काठमाडाैं । तालिबानले अफगानिस्तानका चार प्रान्तीय राजधानीमाथि कब्जा जमाएको दाबी गरेको छ । निमरोजको राजधानी जरन्जा शुक्रबार कब्जा गरेको तालिबानले अन्य दुई राजधानी कब्जा गरेको दाबी गरेको बीबीसीले समाचार प्रकाशित गरेकाे छ ।
यसअघि तालिबानले लस्करगाहमाथि पनि नियन्त्रण कायम गरेको जनाएको थियो । अफगानिस्तानका अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिएको तालिबान अहिले शहरी क्षेत्रतर्फ अघि बढीरहेको छ ।
शुक्रबारयता तालिबानले चार प्रान्तीय राजधानी कब्जा गरेपछि सरकारी सुरक्षा फौज समस्यामा परेकाे बताइएकाे छ । अमेरिकी बमवर्षक विमानले शबरघानास्थित तालिबानहरू रहेको स्थानमा आक्रमण गरेको थियो ।
तालिबानले एकपछि अर्को गर्दै प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि सरकारले त्यसलाई पुन: आफ्नो नियन्त्रणमा लिइने जनाएको छ । आइतबार केही समयको फरकमा उत्तरी क्षेत्रमा रहेको कुन्दुज तथा सरेपुलमा नियन्त्रण कायम गरेको तालिबानको दाबी छ ।
कुन्दुज तालिबानले अहिलेसम्म नियन्त्रणमा लिएकामध्ये सबैभन्दा ठूलो शहर भएको र यसलाई तालिबानको ठूलो जितका रूपमा लिइएको बीबीसीले समाचारमा उल्लेख गरेकाे छ । सन् २०१५ र २०१६ मा पनि तालिबानले कुन्दुजमाथि छोटो समयका लागि नियन्त्रण कायम गरेको थियो ।