काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट नेपालमा हालसम्म १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । शुक्रबार २५ जना संक्रमितको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक अनुसार शुक्रबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।
प्रदेशमा सबैभन्दा बढी बागमतीमा ४ हजार २७४ जनाले ज्यान गुमाएका छन् । त्यसपछि लुम्बिनीमा एक हजार ६२२, प्रदेश १ मा एक हजार ४०४ र गण्डकीमा एक हजार १०१ जनालको ज्यान गएको छ।
प्रदेश २ मा ७४७, सुदूरपश्चिममा ४४६ र कर्णालीमा ४२५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बरभन्दा बढीले ज्यान गुमाएका छन् । पहिलो लहर चलेको एक वर्षको अवधिमा गत चैतसम्म तीन हजार ५८ जनाले ज्यान गुमाएका थिए । त्यसयता चार महिनामा ६ हजार ९६१ जनाको ज्यान गएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी बृद्धबृद्धा छन् । ६० वर्षभन्दा माथिका ५ हजार ३८७ जनाको ज्यान गएको छ ।
त्यस्तै, ५० देखि ५९ वर्षसम्मका एक हजार ९६१ जना, ४० देखि ४९ वर्षसम्मका एक हजार ४३७ जना, ३० देखि ३९ वर्षसम्मका ८२८ जना र २० देखि २९ वर्षसम्मका ३०४ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाबाट ९५ जना बालबालिकाको पनि ज्यान गएको छ । जसमा ९ वर्षसम्मका ४५ जना र १० देखि १९ वर्षसम्मका ५० जना छन् ।