Aafno Khabar

बार्सिलाेनाबाट बाहिरिए लियाेनल मेस्सी

  • आफ्नो खबर
  • August 6, 2021 प्रकाशित

काठमाडाैं । लियोनल मेस्सी बार्सिलोना नबस्ने पक्का भएको छ । बार्सिलोनाले आधिकारिक विज्ञप्ति सार्वजनिक गरेर मेस्सीले अर्को सिजन नखेल्ने जानकारी दिएकाे हाे ।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएपछि फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति भए पनि ला लिगाको खेलाडी दर्तासम्बन्धी नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले विज्ञप्तिमा जनाएकाे छ ।

काेपा अमेरिका फुटबलकाे उपाधि जितेका मेस्सी आफ्नाे बिदा सकाएर बिहीबार बार्सिलाेना पुगेका थिए ।

२०२१/२०२२ का सिजनका लागि अर्को क्लबको टुंगो नलागेसम्म अब मेस्सी फ्रि एजेन्टका रुपमा रहनेछन् । यसअघि मेस्सी र बार्सिलोना ५ वर्षे करारको नजिक पुगेको र त्यसका लागि औपचारिकतामा मात्र बाँकी रहेको समाचारहरु अन्तर्राष्ट्रिय मिडियामा आएका थिए ।

मेस्सीले क्लबका लागि सजिलाे पार्न साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गरेका थिए ‌। तर लिगले उक्त सम्झौतालाई मान्यता नदिने भएकाे हाे । ३४ वर्षीय फरवार्ड मेसीकाे अबकाे यात्राबारे सबैमा चासाे बढेकाे छ ।