काठमाडाैं । बङ्गलादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको बीबीसीले जनाएकाे छ ।
उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो । स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो ।
बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन् । स्थानीयले बताए अनुसार भोजमा सहभागी भएका मानिसहरू पद्मा नदीपारी गइरहेका थिए । ठूलो पानी पर्न थालेपछि उनीहरू टिनको छानोमुनि ओत लाग्न बसे । त्यही बेला उनीहरुमाथि चट्याङ खसेकाे थियाे । घटना हुँदा बेहुली उक्त समूहमा थिइनन् ।
बाङ्ग्लादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो । सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको ज्यान गएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।
दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसहरूको ज्यान जाने गरेकाे छ ।