काठमाडाैं । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप शनिबार र आइतबार नेपाल आइपग्ने भएकाे छ । काठमाडौंमा रहेकाे जापानी राजदूतावासले विज्ञप्ति जारी गरी शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो ।
जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो । बाँकी आठ लाख खोप केही समयपछि आइपुग्ने दूतावासले जनाएको छ । राजदूत किकुता युताकाले अनुदानमा दिइएको खोपको सही उपयोग हुनेमा आशावादी भएको बताएका छन् ।
सरकारले कोभिड-१९ विरुद्धको थप चार करोड २५ लाख खोप ल्याउन लागेकाे छ । माघसम्म खोप ल्याएर चैतसम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाइने यसअघि नै बताइसकेकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप आएको छ । भारत, चीन र अमेरिकाबाट अनुदानमा तथा भारत र चीनबाट खरीद गरेर खोप ल्याइएको हो ।