Aafno Khabar

साेमबार राति थप ७ घर बगे मेलम्चीमा

  • आफ्नो खबर
  • August 3, 2021 प्रकाशित

तस्बिर : देवराज सुवेदीकाे फेसबुकबाट ।

काठमाडाैं । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र खड्काले जानकारी दिए ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् ।
जहाँबाट आयो मेलम्ची खाेलामा बाढी (हेर्नुहाेस् तस्बिर)

उनका अनुसार बाढीले चनौटे ग्याल्थुम बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।