काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । खड्काले सामाजिक संजालमा एक सन्देश राखेर आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने पनि उनले उल्लेख गरेका छन् ।
सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यू गरेका खड्काले लामो समय कप्तानी पनि सम्हाले । उनकाे कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गर्न सफल बने ।