Aafno Khabar

उपत्यकामा थप सात दिन निषेधाज्ञा, के खुल्ने, के नखुल्ने ? (सूचीसहित)

  • आफ्नो खबर
  • August 3, 2021 प्रकाशित

काठमाडौं । उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो । यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो ।

कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित मंगलबारको बैठकले उक्त आदेश जारी गरेको हो ।

निषेध गरिएका गतिविधिहरु

– सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।

– खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।

– पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।

– शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।

– स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।

– सञ्चालन गर्न पाउने गतिविधिहरु

व्यवसायको हकमा

– औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।

–औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ : ०० बजेसम्म सञ्चालन गर्न पाइने ।

–अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा

– कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।

– यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।

– चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने ।

– सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।

– अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने

– सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने । पछाडी तेस्रो सिटमा ४-४ जनाका दरले ८ जना र चालक छेउमा १ जनागरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाइने ।

– उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने ।

– अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने ।

– सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने ।

परीक्षाको तथा अन्य विषयको हकमा

– विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।

– परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने ।

– परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने ।

– एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्काे सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने ।

– परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने ।

– गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने ।

यी आदेशको पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने पनि जनाइएको छ ।