काठमाडौं । मेलम्ची खोलामा गए रातिदेखि एक्कासी बाढी आएको छ ।
रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका जोड्ने रातो पुल बगाएको छ भने बाढी असार १ गतेकाे जस्तै आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
मेलम्ची खोलामा रहेको रातो पुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिकासँगको सडक सम्पर्क टुटेको छ ।
बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।
मध्यरातमा मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन पनि बगाएको छ । राति आएको बाढीले धार परिवर्तन गरेर खोला छेउछाउका घर बगाउनुका साथै प्रहरी चौकीको भवन र रेडियो मेलम्चीको भवन बगाएको स्थानीयले जानकारी दिए ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुुक्षेत्रका बस्तीसहित मेलम्ची बजार बगरमा परिणत भएकाे थियाे । बाढीका कारण ५ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै हराइरहेका छन् ।
बाढीपहिरो पीडितहरु सामान्य अवस्थामा फर्किरहेकाे बेलामा फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।