काठमाडौं । शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१ का केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।
शनिबार दिनभर र राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । महाशाखाले जारी गरेकाे बुलेटिन अनुसार शनाबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।