Aafno Khabar

महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नदीमा खसे नेपाली नागरिक

  • आफ्नो खबर
  • July 30, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

धनगढी । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।

‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।’

धामी बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाएर घटनाकाे छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएकाे छैन । तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।