काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढीरहँदा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्कमा सङ्क्रमणमुक्त हुने दर क्रमशः घटिरा छ । यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा यो दर ९४.१ प्रतिशत पुगेको छ ।
साउन ८ गते एक हजार ६७८ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका थिए । यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले सङ्क्रमित बढिरहेकाले सङ्क्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, “सङ्क्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो ।”
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।
उपत्यकामा ८६० जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् ।
कोरोना सङ्क्रमणबाट नेपालमा बिहीबार थप १६ जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ । प्रति १० लाखमा ३३०.५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
५०० भन्दा बढी सङ्क्रमित जिल्ला ११
अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की, रुपन्देही गरी ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ ।
मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होम आइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।