Aafno Khabar

देशका यी स्थानमा आज भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • July 27, 2021 प्रकाशित

काठमाडाैं । मंगलबार देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १ तथा बागमती प्रदेशका केही स्थान र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले भारी वर्षा हुने देशका पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक छ भने हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेकाे छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

मंगलबार दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, मंगलबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।