Aafno Khabar

थप कडाइकासाथ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी

  • आफ्नो खबर
  • July 25, 2021 प्रकाशित

काठमाडाैं । काठमाडाैं उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थपिन सक्ने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यसबारे आइतबार अपराह्न ४ बजे काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय लिइने उनले बताए । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गरी कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।

काठमाडौं उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिइरहेकाे छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आइतबार राति सकिनेछ ।

यसअघि विद्यालय तथा विश्वविद्यालयको पठनपाठन भौतिक रुपमा नगरे पनि २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको थियो । त्यही अनुसार अहिले विभिन्न तहका परीक्षा पनि सञ्चालन भइरहेका छन् ।