काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
जोरबिजोर प्रणाली लागु गरेर लामो दूरीका सवारी चल्न दिइने विकल्पबारे सोचिए पनि अहिले यसबारे भने निर्णय भएकाे छैन । तर अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइने सूचनामा उल्लेख गरिएकाे छ ।
सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने जनाइएकाे छ ।
देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेको छ । उपत्यकामा दैनिक ३ सयदेखि ५ सयको हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन् ।