काठमाडौं । एमालेका नेता माधवकुमार नेपालको निजी निवासमा बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपालबीच भेटवार्ता भएकाे छ ।
कोटेश्वरमा भएको यो भेटको तस्विर माधवकुमार नेपालले सार्वजनिक गरेका छन् । तरल राजनीतिक अवस्थामा भएको यो भेट अर्थपूर्ण रुपमा हेरिएकाे छ । चन्द नेकपाका नेता धर्मेन्द्र बास्तोलासहित नेपाललाई भेट्न पुगेका थिए ।
ओली सरकारको बर्हिगमनपछि विप्लव पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेटेका थिए । भेटका क्रममा सबै माओवादीबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
महासचिव चन्दले दाहालसँग पनि यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाएका थिए ।
एमालेमा विद्रोह गरिरहेका माधव नेपालहरुले पनि वृहत कम्युनिष्ट पार्टी बनाउने बताइरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपामा माधव र प्रचण्ड मिलेर ओलीसँग संघर्ष गरेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि बालुवाटारबाट बालकाेट फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई पार्टीमा कुनै स्थान नभएकाे बताइसकेका छन् । पछिल्लाे राजनीतिक घटनाक्रम र यी तीन नेताहरुबीचकाे भेट अर्थपूर्ण हुने अनुमान गरिएकाे छ ।