Aafno Khabar

रजनीकान्तले लिए राजनीतिबाट सन्यास, विघटन गरे दल

  • आफ्नो खबर
  • July 12, 2021 प्रकाशित

काठमाडाैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् ।

रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएका हुन् ।

गत डिसेम्बर २९ मा रजनीकान्तले स्वास्थ्य समस्याका कारण आफू राजनीतिबाट टाढिने घोषणा गरेका थिए । उनी डिसेम्बर २५ मा रक्तचापमा भएको उतारचढाव र थकानका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकाे २ दिनपछि उनी डिस्चार्ज भएका थिए ।

उनले डिसेम्बर ३ मा आफू नयाँ पार्टी बनाउने र सन् २०२१ को विधानसभा चुनाव लड्ने बताएका थिए । । उनले आफ्नो यस फैसलाका कारण फ्यानहरु निराश हुने भएकाले फ्यानसँग माफी पनि मागेका छन् ।