काठमाडाैं । इंग्ल्यान्डलाई पराजित गरी इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरी इटालीले उपाधि जितेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्न सफल भयाे । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएका थिए । तर पनि पोस्टमा लागेर फर्केको बलमा बोनुची गाेल गर्न सफल भए ।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरेका थिए । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।
इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गर्न सफल भए । तर, मार्कुस रास्फोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।
यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्डमाथिको जित र युराेकपकाे उपाधि जित्दा इटालीले ३४ खेलसम्म अपराजित यात्रा पनि कायम राख्न सफल भएको छ ।