काठमाडौं । युरोपियन फुटबलको सबभन्दा ठूलो प्रतियोगिता युरो कप २०२० को उपाधिका लागि इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा हुने फाइनल खेल आइतबार राति १२ : ४५ बजे सुरु हुनेछ ।
इंग्ल्याण्डको फुटबल इतिहासले सन् १९६६ मा घरेलु मैदानमा चुमेको विश्वकपको उपाधि बाहेक अन्य गर्विलो इतिहास बनाउन सकेको छैन । याे खेल इंग्ल्याण्डका लागि गर्विलाे इतिहास बनाउने माैका पनि हाे ।
५५ वर्ष पहिले घरेलु मैदान वेम्बलीमा घरेलु समर्थकमाझ वेस्ट जर्मनीमाथि ४ – २ गोलकाे जित निकालेर इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । अहिले पुन: उक्त संयाेग जुरेकाे छ । उही मैदान, घरेलु दर्शकको समर्थनमाझको पहिलो युरोकपको उपाधि ।
१९६६ मा पहिलो पटक विश्वकफ फुटबलको उपाधि हासिल गरे पश्चात् इंग्ल्याण्ड मुख्य प्रतियोगितामा अगाडी पुग्न सकेकाे थिएन । सन् २०१८ को विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलसम्म पुगेकाे थियाे ।
उत्कृष्ट प्रर्दशन जारी राखेर पछिल्ला ३३ खेलमा अपराजित इटालीमाथि जित निकाल्न भने इङ्ल्यान्डलाई सहज छैन । पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजा कायम राख्ने सोचमा छ ।
सन् १९६८ मा आफ्नो एकमात्र युरो कप उपाधि जितेको इटाली त्यसपछिका संस्करणमा २ पटक फाइनलसम्म पुगेर पराजय भोगेको छ । इटाली आफ्नाे पुरानाे घाउ मेटाउने काेसिसमा छ । युरो २००० र युरो २०१२ मा फाइनलसम्म पुगेर पनि इटाली उपविजेतामा सीमित बनेको थियो ।
जारी युराेकपमा इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कमाथि जित निकालेर इटालीसँगको फाइनल भेट पक्का गरेको हो ।
इटालीले सेमिफाइनलमा तीन पटकको युरोपियन च्याम्यिन स्पेनमाथि जित निकालेर फाइनलको यात्रा तय गरेको हो । रोमान्चक खेलमा स्पेनमाथि ४–२ गोलले पराजित गरी इटालीले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
हालसम्म यी टिमले २७ खेलमा एक–अर्काको सामना गरेका छन् । जसमा इटाली ११ खेलमा विजयी भएको छ भने इंग्ल्यान्ड ८ खेलमा विजयी भएको छ । यस्तै, ८ खेल बराबरीमा सकिएका छन् ।