काठमाडाैं । कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने सामने हुनेछन् । खेल नेपाली समय अनुसार आइतबार बिहान ५ बजेर ४५ मिनेटमा ब्राजिलमा हुनेछ ।
ब्राजिल र अर्जेन्टिनाकाे प्रतिस्पर्धामा बार्सिलोनाका पूर्व सहकर्मी रहेका लियोनेल मेस्सी र नेयमार पनि आमने सामने हुनेछन् । पूरा विश्वको चर्चित खेलाडी रहेका मेस्सी र नेयमार बीचको खेल आइतबार रोमान्चक हुने अपेक्षा गरिएकाे छ ।
जारी प्रतियोगितामा दुवै टोली उच्च लयमा देखिएका छन् । दुवै टोली प्रतियोगितामा पराजित भएका छैनन् । कोपा अमेरिकाको जारी संस्करणका ६ खेल मध्ये ५ खेलमा दुवैले जित निकालेका छन् ।
मेस्सी र नेयमार दुवैले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । यद्यपी मेस्सी भने नेयमार भन्दा राम्रो लयमा देखिन्छन् । मेस्सीले ६ खेलमा ४ गोल गरी ५ असिस्ट गरेका छन् । नेयमारले ५ खेल खेलेर २ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन् ।
पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको थियो । लिओनल मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।
तर मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता यी दुई टोली २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा भिडेका थिए । उक्त खेल ब्राजिलले २–० ले जितेको थियो । समग्रमा हेर्दा अर्जेन्टिना अघि रहे पनि मुख्य प्रतियोगिताको पछिल्लो ५ खेलमा ब्राजिल अर्जेन्टिनाविरुद्ध अपराजित छ ।
फिफा वरीयतामा ८ औँ स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि त्यसपछिका वर्षमा ४ पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनाका लागि सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर पनि छ ।
३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्र स्वर्ण पदक जितेका छन् ।
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा ।