काठमाडाैं । युरो कप फुटबलको सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनमाथि ३० हजार युरो जरिवाना गरेको छ ।
गएको बुधबार राति वेम्बली स्टेडियममा अतिरिक्त समयमा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई लक्षित गरेर दर्शकबाट कास्परको अनुहारमा पर्ने गरी ‘लेजर लाइट’ को प्रयोग भएको थियो ।
केनले प्रहार गरेको पेनाल्टी कास्परले रोके पनि रिबाउन्डमा केनले गोल गर्न सफल भएका थिए । उक्त गाेलका कारण इंग्ल्याण्ड फाइनलमा पुगेकाे छ ।
पेनाल्टीका क्रममा लेजर लाइट देखाएकाे विषय लिएर यूईएफएले छानबिन गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो ।