काठमाडाैं । युरोकप अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न खेलमा डेनमार्कमाथि २-१ गोलकाे जित निकालेर इंग्ल्यान्ड ५५ वर्षपछि युरोकपको फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गरी इंग्ल्यान्डले जित निकालेको हो । अतिरिक्त समयको १ सय ४ औँ मिनेटमा कप्तान केनले गोल गरी इंग्ल्यान्डका लागि जित दिलाए । उनले आफैँले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।
रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औँ मिनेटमा डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । यद्यपी यो क्रम खेलको अन्तिमसम्म भने टिक्न सकेन ।
खेलको ३९ औँ मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।