काठमाडाैं । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् ।
रामोसलाई पीएसजीले दुई वर्षकाे लागि अनुबन्धन गरेकाे बिहीबार जानकारी दिएकाे हाे । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् । बुधबार आफ्नो अफिसियल वेबसाइटमा पीएसजीले नयाँ डिफेन्डर ४ नम्बर जर्सीमा देखिनेछन् भनेर पोस्ट गरेको थियो ।
स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यमा रियल मड्रिड छाडेका थिए ।
पीएसजीमा सम्झौता भएपछि रामोसले पीएसजीमा सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन् । ‘यो मेरो जीवनमा ठूलो परिवर्तन हो, यो नयाँ चुनौती हो । म यो दिन कहिल्यै बिर्सन सक्दिनँ । म यो क्लबको महत्वाकाङ्क्षी परियोजनाको हिस्सा हुन पाएकोमा ठुलो गर्व गर्छु ।’
पीएसजीमा सम्झौतापछि रामोसले भने, ‘यति धेरै स्टार खेलाडीहरु भएको टोलीको एक हिस्सा बन्न पाउँदा खुशी छु । पीएसजी आफैँमा इतिहास बोकेको क्लब हो । म यहाँबाट पनि ट्रफीहरु जित्न चहान्छु ।’
सन् २००५ मा सेभियाबाट आएका ३५ वर्षीय रामोसले १६ वर्ष रियलमा बिताएका थिए । रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते । रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।