Aafno Khabar

देशभरका यी स्थानमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • July 8, 2021 प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको देशभर सामान्य देखि पूर्ण बदली रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बिहीबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।