काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ ।
निरन्तर सुनुवाई सुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ ।
सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखिएको बताएका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएकाले २८ असारमा फैसला आउने अनुमान गरिएकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।
उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।
सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।