काठमाडाैं । बेल्जियममाथि जित निकालेर उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
इटालीका लागि खेलको ३० औं मिनेटमा बरेलाले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औँ मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गाेल गरेका थिए तर उनकाे गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिए ।
४४ औँ मिनेटमा लोरेन्जोले गोलमार्फत इटालीले २-० को अग्रता बनायाे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गरी खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा दुवै टिमबाट थप गाेल हुन सकेन । खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए ।
इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । यसअघि स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गरी स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको थियो ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।