काठमाडाैं । स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा ३-१ काे जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको २ ओटा प्रहार स्पेनका गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।
खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौँ मिनेटमा नै अग्रता लिएको थियो ।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो । तर, खेलको ६८ औँ मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गरी स्विट्जरल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।
खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।