Aafno Khabar

बाढी पहिरोले अवरुद्ध राजमार्गहरुमा एकतर्फी यातायात सञ्चालन

  • आफ्नो खबर
  • July 3, 2021 प्रकाशित

काठमाडौं । निरन्तरको वर्षातले झरेको पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गहरु खुल्न थालेका छन् । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको छ ।

पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

याे सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ। पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा सवारी साधन क्षति पुर्‍याउने गरी आएको पहिराले अवरुद्ध राजमार्गको धादिङ खण्ड पनि एकातर्फी रुपमा सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखिको पहिराले राजमार्गको ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो ।

उता वीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा नं १२ मान्ती भन्ने स्थानमा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । लेदो माटो झरेर अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएसँगै सञ्चमलनमा आएको काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीकाे गैँडाकोट–दुम्कीबास खण्डमा अवरुद्ध सडक पनि सञ्चालनमा आएको छ । अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याएको नवलपरासी पूर्वकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।