काठमाडाैं । निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भएको छ । पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ ।
त्यस्तै, मुग्लिङ-नारायणगढ खण्ड, काभ्रे जिल्लामा बीपी राजमार्ग र ललितपुर हुँदै हेटौँडा जाने सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पनि अवरुद्ध भएको विवरण प्राप्त भएको छ।
यसअघि नै गएका पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बाजुराको मार्तडी-कोल्टी र बेँसीसहर-मनाङ सडक खण्ड अवरुद्ध रहेको बताइएको छ ।
कोरोनाभाइरस महामारीका कारण निषेधाज्ञा लागु भएका कारण राजमार्गहरूमा विगतमा जस्तो सवारीको चाप भने देखिएकाे छैन ।
पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने कार्य जारी रहेको पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारदेखि मनसुन थप सक्रिय भएको र शुक्रबारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशखाले जनाएको छ । सरकारले नदी तटीय क्षेत्र र भिरालो वस्तिहरूमा सतर्कता अपनाउन सर्वसाधारणहरूलाई आग्रह पनि गरेको छ ।