काठमाडाैं । इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीमाथि २-० गोल अन्तरबमे जित निकालेर इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औँ मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । उनले लुक शको पासमा गोल गरेका थिए । ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर चुकाएका थिए । बराबरी गर्ने माैका पाए पनि जर्मनी खेलमा फर्कन सकेन ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले उत्कृष्ट हेडर गाेल गर्न सफल भए । जर्मनी प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ ।