काठमाडाैं । कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ । महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा क्यालेन्डर नियमित बनाउने तयारी गरिएको छ । कोभिड-१९ का कारण त्रिविको परीक्षा क्यालेन्डर खलबलिएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, “दशैंअघि २०७७ सालका परीक्षा सम्पन्न गर्ने र दशैं पछाडि २०७८ सालका परीक्षा शुरू गर्ने तयारी छ ।” दशैंपछि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उनले बताए ।
दशैंअघि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै, दशैंपछि हुने परीक्षामा करीब ६ लाख परीक्षार्थी सहभागी हुने उनले बताए ।
गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराउने तयारी भइरहेको उनको भनाइ छ । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि त्रिविको परीक्षा क्यालेन्डर नियमित हुन सकेको छैन ।
अब संक्रमण बढे पनि परीक्षा नरोक्ने योजना रहेको उनले बताए । “कोरोनाभाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौं,” जोशीले भने, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौं, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिलेकै अवस्थामा पुर्याउँछौं ।”
त्रिविको गत वर्ष भदौमै हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा अहिलेसम्म हुन सकेको छैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक दोस्रो वर्षको परीक्षा आगामी ४ साउन र पहिलो वर्षको परीक्षा १० साउनबाट गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
त्यसपछि स्नातक तह कानून संकायको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा रहेको जनाएको छ ।
कोभिड-१९ को संक्रमण अझै कम नभएकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोनाभाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गर्न लागिएको जोशीले बताए ।
योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौं आउने बाध्यता हट्ने भएको छ । “हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छौं,” उनले भने, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन्, त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउनेछन् ।” रासस