काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । राेनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका हुन् ।
युरोकप फुटबल अन्तर्गत बुधबार राति समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा २ गाेल गरी उनले उक्त कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । ३६ वर्षीय रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका हुन् ।
जारी युरो कपमा रोनाल्डोको यो पाँचौ गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।
रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान पनि भंग गरेका छन् । क्लाेजकाे नाममा रहेकाे विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि राेनाल्डाेले भङ्ग गरे । रोनाल्डोले विश्वकप र यूरोपकमा संयुक्त २१ गोल पूरा गरे ।
रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गरी क्लोजले कीर्तिमान बनाएका थिए ।
याे पनि पढ्नुहाेस् ।