काठमाडाैं । निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्यालयकी एक युवतीलाई लिएर स्वयम्भू ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख रोशन श्रेष्ठले आफूहरु पूजा गर्न गएकाे बताएका छन् ।
प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर युवतीसहित स्वयम्भू पुगेर प्रेमलापमा लिप्त भएको फोटो/भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीमाथि गृहमन्त्रलायले छानविन सुरु गरेको थियो ।
मन्त्रालयले युवती लिएर स्वयम्भू पुग्ने व्यक्ति शहर आयोजना प्रमुख रोशन श्रेष्ठ रहेको पत्ता लगाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र काटेको थियो । गृहको पत्र अनुसार सीडीयो कार्यालय काठमाडौँले घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
यस अघि मिडियाले यस विषयमा उनै श्रेष्ठलाई प्रश्न गर्दा उक्त गाडी आफैले चढ्ने भए पनि ड्राइभरले लगेको हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनले भिडियो र तस्विरमा देखिएको व्यक्ति आफू नभएको दाबी गरेका थिए ।
यद्यपि छानविन समितिले जाँचबुझ गर्दा उनीहरुले पास लिएरै हिँडेको देखिएको हुँदा निषेधाज्ञा उल्लघन नभएको निष्कर्ष निकालेको छ ।