Aafno Khabar

कांग्रेसको महाधिवेशन संशोधित कार्यतालिका अनुमोदन

  • आफ्नो खबर
  • June 18, 2021 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ । यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।

बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ । यसअघिको असार ५ मा वडा, ७ मा गाउँनगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका रहेको थियो ।

यसअघिको निर्वाचन कार्यतालिकामा साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने रहेको थियो । तर, क्रियाशिल सदस्यता टुङ्गो लगाउन नसकेपछि कार्यतालिका परिमार्जन गरेको हो ।