काठमाडाैं । ब्राजिलले भेनेजुएलामाथि सहज जित हात पारेकाे छ । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलामाथि ३-० काे जित निकालेकाे हाे । साेमबार बिहान सकिएकाे खेलमा ब्राजिलका लागि मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे ।
खेलकाे २३ औँ मिनेटमा नै ब्राजिलले अग्रता लिएकाे थियाे । उसका लागि मार्किन्हसले पहिलाे गाेल गरे । पहिलो हाफमा १ गोल गरेको ब्राजिलले दोस्रो हाफमा २ गोल थप्न सफल भयाे । ६४ औं मिनेटमा ब्राजिलले पेनाल्टी मार्फत अग्रता दोब्बर बनाएको थियो । डी बक्सभित्र ब्राजिलका ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसर ब्राजिलका नेयमारले गाेलमा परिणत गरे ।
त्यसपछि पुन ८९ औं मिनेटमा ग्याब्रिएल बार्बोसाले १ गाेल गर्न सफल भए । कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाएपछि टोली केही कमजोर देखिएको थियो ।