Aafno Khabar

भित्रियाे मनसुन, यसरी आउँछ नेपालमा प्रत्येक वर्ष मनसुन

  • आफ्नो खबर
  • June 11, 2021 प्रकाशित

काठमाडाैं । यस वर्षकाे मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ ।

बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको हाे । महाशाखाका अनुसार पूर्वी नेपालबाट भित्रिएको मनसुन अबको एक/दुई दिनमा नै देशैभर फैलिने सम्भावना रहेको छ ।

महाशाखाकाे सूचनामा लेखिएकाे छ, ‘बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण २८ गते बाट नेपालको पूर्वी भूभागहरु : प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा मनसुनको आगमन भएको छ । एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ ।’

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेकाे छ ।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने गर्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनी वायुको प्रभावले वर्षा गराउँछ । जल तथा मौसम विभागले यसपालिको मनसुनमा नेपालमा औसतभन्दा बढी वर्षा हुने बताइसकेकाे छ ।

मनसुनकाे अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने यो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ । उक्त आँकलन अनुसार याे वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएकाे छ ।

उक्त आँकलन अनुसार याे मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू-भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५-६५% (हिमाली भू-भागहरुमा ५५-६५%, उच्च पहाडी भू-भागहरुमा ४५-५५% र चुरे तथा महाभारत क्षेत्रमा ३५-४५%) छ ।

त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५-४५%, र प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५-४५% छ ।’

प्रत्येक वर्ष नेपालमा बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा हुने गर्दछ । जुन हिन्द महासागरको दक्षिण गोलार्द्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलार्द्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ ।

आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको प्रणालीले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै देशभर फैलन्छ । यो मनसुनी चक्र हरेक वर्ष यसरी नै हुने गर्दछ ।