Aafno Khabar

मनाङे विपक्षी गठबन्धनमा ढल्किएपछि मुख्यमन्त्री गुरुङले विश्वासकाे मत नपाउने संकेत !

  • आफ्नो खबर
  • June 10, 2021 प्रकाशित

काठमाडाैं । स्वतन्त्र सांसद दीपक मनाङेले कित्ता परिवर्तनको संकेत देखाएपछि गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार संकटमा परेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत लिने तयारी गरिरहेका बेलामा मनाङे विपक्षी गठबन्धनतर्फ आकर्षित भएका छन् ।

गुरुङकै सरकारमा मन्त्री रहेका मनाङेले मुख्यमन्त्रीको विपक्षमा मत हाल्ने बताएका छन् । २०७४ सालको निर्वाचनमा मनाङबाट निर्वाचित सांसद मनाङेले यसअघि गुरुङकाे साथ दिएका थिए ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ जना सांसद छन् । गुरुङलाई सरकार जोगाउन मनाङेको समर्थन र जनमोर्चाका एक सांसद तटस्थ बस्नु अनिवार्य छ । जनमोर्चा सांसद कृष्ण थापाले कांग्रेसलाई साथ नदिने अडान लिइरहेका छन् ।

प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका ३ र जसपाको बाबुराम भट्टराई पक्षका २ जना सांसद र स्वतन्त्र एक सांसद छन् ।