काठमाडाैं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुन आवश्यक भएकाे दाेहाेर्याएका छन् । उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका हुन् ।
शनिबार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको उनकाे दाबी छ ।
उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टी नीति मुख्य ध्यानमा राखेर काम गर्न निर्देशन दिए ।
के भने महताेले ?
‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ ।
विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होईन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँजहाँ कमी कमजोरी छ । जहाँजहाँ विभेद छ ।
जहाँजहाँ एकल जातिय राज्य सञ्चालन गर्ने, एकल जातिय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’