काठमाडाैं । बंगालको खाडी नजिक बनेको सामुद्रिक आँधी ‘यास’ काे प्रभावले भारतका केही भूभागकाे जनजीवन प्रभावित बनेकाे छ । भारतीय मौसम विभागले बुधबार पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ ।
मौसम विभागका अनुसार बुधबार दिउँसो यास बालासो र भद्रकको धामरा (पारादीप) को नजिक भएर जमिनमा आउने बताइएकाे छ । जसका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ ।
आँधीको प्रभावका कारण पश्चिम बंगाल, उडिसा र झारखण्ड राज्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा पूर्वबाट पश्चिमतिर जानेछ । केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यास आँधीबारे विशेष बुलेटिन जारी गरी महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तो हुनेछ आगामी तीन दिनकाे माैसम
बुधबार (१२ गते) : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
बिहीबार (१३ गते): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
शुक्रबार (१४ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार (१५ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।