काठमाडाैं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेपछि एक साता निषेधाज्ञा थपिएको हो ।
थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
काठमाण्डाै, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख अधिकारीहरूको केहीबेरअघि सम्पन्न बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । जेठ १४ गते बिहान ६ बजेबाट शुरू हुने निषेधाज्ञा जेठ २० गते राति १२ बजेसम्म कायम रहनेछ ।
यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गरी जेठ १३ गतेसम्म कायम गरिएको थियाे । खाद्यान्नलगायत दैनिक उपभोगका सामान किनमेलका लागि १० बजेसम्म समय दिइएकाे थियाे ।
निषेधाज्ञा पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोपछि कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिवानाको हकमा कडा व्यवस्था गरिसकेकाे छ ।
याे पनि : बिना काम घरबाहिर निस्किए २ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना