काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना निकालेर परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो ।
‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको आवेदन जेठ १२ गतेबाट २० गतेसम्म अनलाइनबाट परीक्षार्थी स्वयंले भर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस र परीक्षार्थीबाट भरिएका सम्पूर्ण फारामहरु क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी २०७८ जेठ २३ सम्म इन्ट्री गरिसक्नु पर्नेछ।’
अनलाइन फाराम www.tuexam.edu.np मा अनलाइन फर्ममा क्लिक गरी निर्देशन अनुसार भर्न सकिनेछ । जेठ २४ गतेबाट उक्त वेबसाइट बन्द हुनेछ र दोब्बर दस्तुर बुझाइ फर्म भर्ने अवधि असार १ गतेबाट ७ गतेसम्मका लागि रहने बताइएकाे छ ।