Aafno Khabar

ओलीले गरे दाेस्राे पटक संसद विघटन, कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय

  • आफ्नो खबर
  • May 22, 2021 प्रकाशित

काठमाडाैं । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकाे र राष्ट्रपति समक्ष सिफारिस गरेकाे हो ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भनी प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएकाे थियाे । उक्त विज्ञप्ति जारी भएपछि मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हाे ।

यसअघि प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर फागुन ११ गते सर्वोच्च अदालतले सरकारको उक्त निर्णय उल्टाइदिएको थियो ।