काठमाडाैं । अब निषेधाज्ञाकाे समयमा अनुमतिबिना सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे हाे ।
सरकारले अध्यादेशमार्फत यससम्बन्धी व्यवस्था ल्याएकाे हाे । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग)मा ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।’ भनी उल्लेख गरिएकाे छ ।
सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि बताइएकाे छ । उक्त अध्यादेशमार्फत मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ । मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गरेमा भने २ सय जरिवाना गरिने बताइएकाे छ ।
केही दिनअघिमात्र सर्वाेच्च अदालतले यससम्बन्धी कानुन नभएकाे भनी जरिवाना नगराउन र हाेल्ड नगराउन आदेश दिएकाे थियाे ।