लमजुङ । लमजुङमा गएकाे २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएपछि बिहीबार बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका संख्यामा भूकम्पको धक्का महसुस गरिएकाे हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।
यसरी पटक–पटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीकाे लागि रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न पनि समस्या भएकाे स्थानीयले बताएका छन् ।।
रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । यतिमात्र हाेइन कोरोना सङ्क्रमणको जोखिम उच्च भएपछि निषेधाज्ञा समेत जारी भएकाे छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ ।
यता भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह पनि गरेका छन् ।
कहिलेकाहीँ जमिनमुनिको बढी चापमा परेको असन्तुलित भाग सन्तुलित हुन खोज्दा सानासाना भुकम्प आउने गर्छन् । सन्तुलित हुन केही बढी समय लागेमा लगातार पराकम्पन आउन सक्छन् । लमजुङमा अहिले आइरहेका भूकम्प पनि यस्तै हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् । यसलाई सकारात्मक तरिकाले हेर्दा एउटै ठूलो भूकम्प आउँदाको विष्फोटले हुनसक्ने सम्भावित क्षति टरेको रुपमा हेर्न सकिने विज्ञहरुकाे भनाइ छ ।