काठमाडौं । बिहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेकाे छ । अरब सागरमा बनेकाे ताउते नामकाे चक्रवातकाे प्रभावले केही दिनयता देशभरकाे माैसम प्रभावित बनेकाे छ । माैसम पूर्वानुमान महशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
महशाखाका अनुसार बिहीबार दिनभर अधिकांश स्थानमा पूर्ण बदली नै रहेनछ । ‘दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको छ ।’ महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।
बिहीबार राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ’ बुलेटिनमा भनिएको छ ।