काठमाडौं । नेपालभर हालसम्म ७३ जिल्लामा निषेधाज्ञा भएकाे छ । अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् ।
७३ मध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । विवरणअनुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो ।
वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक ठप्प हुन पुगेको छ । स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् ।
मुलुकमा पछिल्ला केही दिनदेखि ९ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिण्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।
नेपालमा पछिल्लो साताको विश्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ ।