काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा हुने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाभित्र गएकाे वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पहिलाे पटक सात दिनका लागि लगाइएकाे निषेधाज्ञामा वैशाख २१ गते सात दिन थप गरिएकाे थियाे । त्यसपछि पुन: २८ गते १५ दिन निषेधाज्ञा थपिएकाे हाे ।
मंगलबार थप गरिएकाे निषेधाज्ञामा यसअघिका निषेधाज्ञामा भएका केही बुँदा संशोधन गरिएको छ ।
अब कसैले पनि निषेधाज्ञाको समयमा पार्टी प्यालेस र होटेलमा विवाह गर्न पाउने छैनन् । घरभित्र भएको विवाहमा पनि भोजभतेर गर्न नपाइने र १० जना भन्दा बढी मानिस भेला भएर विवाह गरेको पाइएमा कारबाही गरिने बताइएकाे छ ।
यसअघि १५ जनासम्म भेला भएर विवाह गर्न दिइएको थियो ।
त्यस्तै, तरकारी तथा खाद्यान्नको पसल भने बिहान १० बजेसम्म खुल्न दिइने भएको छ । यसअघिको निषेधाज्ञामा बिहान ९ बजेसम्म खुल्न दिइएको थियो । समय कम हुँदा मानिसको भिड भएकाले एक घण्टा थप गरिएको हाे ।
खुद्रा रुपमा साइकल तथा गाडा लगायतमा राखेर बेचबिखन गर्ने तरकारी तथा फलफूल पसललाई भने रोक लगाइएको छ । त्यस्तै, निजी क्षेत्रमा हुने विकास निर्माणका काम समेत नगर्न भनिएको छ । ठूला तथा राष्ट्रिय गौरवका योजना र सरकारी निर्माणका काम भने नराेकिने बताइएकाे छ ।