काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुवै स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिक र अन्तरराष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टड र उद्धार अन्र्तराष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।