कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको गुरुङको हिजो एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो ।
त्यसपछि गुरुङको स्वाब परीक्षणका लागि पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो । स्वाब परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।
गुरुङलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा तानिएका छन्। प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले हिजो बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए।
उक्त बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य सहभागी थिए।
यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। काठमाडौंमा भेटघाट गरेर उनी शनिबार पोखरा फर्किएका थिए।
कोरोना संक्रमण भएका मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बसेका छन्। उनलाई हालसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन।
मुख्यमन्त्री गुरूङका प्रेस संयोजक विक्रम न्यौपाने पनि कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा छन्। उनलाई ६ दिनअघि नै कोरोना संक्रमण पुष्टी भएको थियो।