Aafno Khabar

काेराेना कालमा निजी अस्पतालको लुट : प्रतिदिन प्रति’बेड’ ५० हजारसम्म

  • आफ्नो खबर
  • May 4, 2021 प्रकाशित

काठमाडाैं । नेपालमा काेराेना संक्रमण तीव्र भइरहँदा निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकाय भने कमाउने धन्दामा लागेकाे देखिएकाे छ ।

कोरोना सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा रहेको केएमसी (काठमाडौँ मेडिकल कलेज), धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल र झापाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालले अचाक्ली शुल्क लिएको गुनासाे आउन थालेकाे छ भने अस्पतालले प्रतिदिन प्रतिबेडकाे मूल्य पनि अत्याधिक बढाएकाे छ ।

धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले प्रतिदिन प्रतिबेडको ५० हजारसम्म लिने गरेको गुनासाे आउन थालेकाे छ भने केएमसीले विज्ञप्ति नै निकालेर प्रतिबेड ३० हजारसम्म लिने बताइसकेकाे छ ।
काठमाडाैं मेडिकल कलेज (केएमसी) सिनामंगल र स्वास्थ्य मन्त्रालयबिच हालै सहमति भएको थियो । सहमति अनुसार केएमसीले अब ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने छ। सरकार र अस्पतालबिच भएको सहमति अनुसार अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्नेछ त्यो खर्च सरकारले बेहोर्नेछ ।

सहमतिअनुसार सामान्य उपचारका लागि प्रतिदिन ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले भुक्तानी दिनेछ । तर अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।

कोरोना संक्रमतिको उपचारमा अस्पतालले नयाँ शुल्क तोकेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा यसकाे चर्काे विराेध हुन थालेकाे छ ।